ललितपुर । कोरोनाको उपचारका क्रममा एक जनाको मृत्यु भएपछि किस्ट मेडिकल कलेज अस्पताल इमाडोलमा कार्यरत एकजना नर्सलाई आफ्नै कोठामा प्रवेश गर्न स्थानीयले रोक लगाएका छन् ।
अस्पतालको एन आइ सि यू (बच्चाको आईसियू) मा कार्यरत हिरा मगरलाई ललितपुर महानगरपालिका वडा नं. १७ बाफल, खुश्वुटोलको कोठामा प्रवेश गर्न स्थानीयले नदिएपछि उनी अस्पतालमै फिर्ता भएर रात विताउन बाध्य भएको बताईन ।
उनी कोरोना संक्रमित भएर मृत्यु भएको पुरुषको उपचारमा समेत संलग्न थिइनन् । फरक विभागमा काम गरेपनि ड्युटी सकेर घर फर्कदा कोठामा जानै नदिएको उनले दुखेसो गरिन ।
तपाई किष्ट हस्पिटलमै फर्किनुस्, नत्र बाहिरबाट ताल्चा लगाईदिन्छौ भनेर दबाब दिएपछि अस्पतालकै एम्बुलेन्स बोलाएर फिर्ता भएको उनले दैनिकीन्युजलाई बताईन । आफूसँग स्थानीय बासिन्दाहरुले पिसिआर रिपोर्ट माग्नुको साथै १४ दिन क्वारेन्टिनमा नबसी आउन नपाउने चेतावनी दिएको मगरले गुनासो गरिन ।
उनी बस्ने घरमा घरबेटी बस्ने गरेका छैनन् । उनले ललितपुर महानगर–१७ का वडाअध्यक्ष विनोद महर्जलनाई जानकारी गराएर अफ्नो कोठामा आएको बताईन ।
बुधबार किस्ट अस्पतालमा कोरोना संक्रमण भएर बुङमतिका ५७ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । त्यसपछि सो क्षेत्रका स्थानीयहरु त्रसित छन् ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी मित्रमन्धु शर्माले नर्सलाई कोठामा प्रवेश गर्न रोकेको विषयमा गम्भीर छलफल गर्ने बताए । ‘शनिबार प्रहरी, जनप्रतिनिधि, अस्पतालका प्रतिनिधिबीच छलफल गरिरहेका छौं’, डीएसपी शर्माले भने । अस्पतालमा कार्यरत नर्सलाई आफ्नो कोठामा जान कुनैपनि वहानामा रोक्न नहुने विषयमा आफू प्रष्ट रहेको उनले बताए ।
उता सो वडाका वडाअध्यक्ष विनोद महर्जनले पनि नर्सलाई कोठामा जान नदिएर गलत गरेको बताए । ‘जसले रोकेको भएपनि त्यो गलत हो, अस्पतालमा खटिने व्यक्तिहरुलाई त्यसो गर्न हुँदैन’, महर्जनले दैनिकीन्युजसँग भने, टोलका स्थानीयहरुलाई मैले सम्झाइसकेको छु ।’
वडाध्यक्ष महर्जनले नर्सलाई कम्तिमा आरडिटी गरेको रिपोर्ट ल्याउन सुझाव दिएको बताए । ‘त्यो पनि नभए हस्पिटलको लेटरप्याडमा भएपनि नर्स कोरोना संक्रमितको उपचारमा संलग्न नभएको पत्र बनाए त भइहाल्यो भनेर भनेको छु, महर्जनले भने ।
यो पनि पढ्नुहोस
शवदाह गृहको ताल्चा फोडेर संक्रमितको अन्त्येष्टि, शव वाहन नपाएर ट्रकमा
कोरोनाले एक जनाको मृत्यु भएपछि बुङमतिमा आवागमन प्रतिबन्ध !
विद्युतीय शव गृहमा गरियो बुङमतीका कोरोना संक्रमितको अन्त्येष्टि
कोरोनाबाट मृत्यु भएका ललितपुरका ५७ वर्षीय व्यक्तिको यसरी हुँदैछ अन्त्येष्टि
ललितपुरमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा कहाँबाट सर्यो कोरोना ? किस्ट अस्पतालको भवन सील
ललितपुरमा कोरोना संक्रमण भएर ५७ वर्षीय पुरुषको मृत्यु