Logo

आइतवार, मंसिर ७ गते २०८३

images

स्थानीय निर्वाचनको तयारीमा जुट्यो आयोग

स्थानीय निर्वाचनको तयारीमा जुट्यो आयोग

दैनिकी न्यूज

५, मंसिर २०८३
स्थानीय निर्वाचनको तयारीमा जुट्यो आयोग
images

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारी अघि बढाएको छ । निर्वाचनको मिति निर्धारण र आवश्यक व्यवस्थापकीय तयारीका विषयमा आयोगले राजनीतिक दलहरूसँग छलफल सुरु गर्न लागेको हो ।

आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूलाई आमन्त्रण गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तहको निर्वाचनका विषयमा परामर्श गर्न दलका प्रतिनिधिहरूलाई बोलाइएको जानकारी दिए । उनका अनुसार निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे दलहरूसँग छलफल हुनेछ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुँदै छ । त्यसलाई मध्यनजर गर्दै आयोगले नयाँ निर्वाचनको तयारी र व्यवस्थापनका लागि आवश्यक गृहकार्य थालेको हो ।

राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगले आफूमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचनलाई समयमै सम्पन्न गर्न आवश्यक कानुनी, प्राविधिक तथा व्यवस्थापकीय तयारीका विषयमा दलहरूको सुझाव लिने आयोगको तयारी छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०८३ शुक्रवार - ०८:०२:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology