Logo

मंगलवार, भाद्र १६ गते २०८३

images

रसुवा बाढीपीडितका लागि प्रतिभा सहकारीले दियो तीन लाख सहयोग

रसुवा बाढीपीडितका लागि प्रतिभा सहकारीले दियो तीन लाख सहयोग

दैनिकी न्यूज

१२, भाद्र २०८३
रसुवा बाढीपीडितका लागि प्रतिभा सहकारीले दियो तीन लाख सहयोग
images

ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ललितपुरले तीन लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवामा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो।

बाढीमा परी ज्यान गुमाउनेप्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ। संस्थाले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि संस्थाले गरेको छ।

विपद्को पीडामा परेका नागरिकलाई केही राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । संस्थाले आफूलाई सदस्यको संस्था नभई समाज र राष्ट्रको सुख–दुःखमा साथ दिने सामाजिक संस्था भएको सन्देश दिएको छ।

तीन लाख रुपैयाँ सहयोग विभिन्न स्रोतबाट जुटाइएको हो। सञ्चालक समिति बैठक भत्ताबाट २८ हजार रुपैयाँ सहयोग गरिएको छ। सदस्य सुरक्षा योजनामा जम्मा भएको रकमबाट एक लाख ५० हजार १०० रुपैयाँ दिइएको छ।

त्यस्तै, कर्मचारी परिवारको तर्फबाट एक लाख रुपैयाँ सहयोग गरिएको छ। संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माले व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ योगदान गरेका छन्।

प्राकृतिक विपद्का कारण घरपरिवार गुमाएका, घाइते भएका र आफ्नो आधार गुमाएका नागरिकका लागि अहिले सहयोगको खाँचो छ। यस्तो अवस्थामा आफूले सकेको सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको संस्थाको भनाइ छ।

सहकारीले गरेको यो सहयोगले बाढीपीडित परिवारको पीडामा थोरै भए पनि मलम लगाउने विश्वास संस्थाले व्यक्त गरेको छ। राहत र पुनःस्थापनाको काममा यस योगदानले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संस्थाले विपद्को यस कठिन समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग र सहकार्यका लागि सबैलाई आग्रहसमेत गरेको छ।

images
प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १५:२१:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology