Logo

शनिवार, कार्तिक २२ गते २०८३

images

कागको भाषा बोल्दै रमेश दुलालले गरे २३औँ काग सम्मेलन

कागको भाषा बोल्दै रमेश दुलालले गरे २३औँ काग सम्मेलन

दैनिकी न्यूज

२२, कार्तिक २०८३
कागको भाषा बोल्दै रमेश दुलालले गरे २३औँ काग सम्मेलन
images

काठमाडौं । काग तिहारको अवसर पारेर कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि २३औँ काग सम्मेलन आयोजना गरेका छन्। शनिबार बिहान उनले कागको आवाज निकालेर आकाशमा उडिरहेका सयौँ कागलाई एकै ठाउँमा जम्मा पारेका थिए।

कागको आवाज हुबहु निकाल्न सक्ने विशेष कला भएका दुलालले आफ्नो यही प्रतिभामार्फत कागलाई आकर्षित गरेका हुन्। उनले कागसँग उसकै भाषामा संवाद गर्दा कागहरू एकै ठाउँमा भेला हुने गरेको अनुभव सुनाए। विगत २३ वर्षदेखि काग तिहारका दिन यस्तो सम्मेलन गर्दै आएका दुलालको प्रस्तुति कार्यक्रममा आकर्षण बनेको थियो।

राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सहआयोजनामा सम्मेलन गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, प्रायोजकमा उपाध्यक्ष प्रवीण गुरुङ तथा सहप्रायोजकमा पूर्णप्रसाद लामिछाने, राजेश कार्की, रुद्रप्रसाद चापागाईं, शंकरप्रसाद आचार्य, ग्रीन सिटी हस्पिटल र कोरा होलिडेजलगायत रहेका थिए। कार्यक्रममा जनसवाल पब्लिकेशन मिडिया पार्टनरका रूपमा रहेको थियो।

दुलालले कागको आवाज मात्र होइन, १७३ प्रकारका जनावर तथा चराचुरुङ्गीको आवाजसमेत निकाल्न सक्छन्। मुखकै सहायताले विभिन्न बाजाका धुन निकाल्ने उनको कला पनि उत्तिकै चर्चित छ। उनले यसअघि रत्नपार्क र नारायणहिटी दरबार संग्रहालयलगायत विभिन्न स्थानमा काग सम्मेलन आयोजना गरिसकेका छन्। गत वर्ष उनले २२औँ सम्मेलन गरेका थिए।

काग तिहार यमपञ्चकको पहिलो दिन मनाइन्छ। नेपाली धार्मिक तथा सांस्कृतिक परम्परामा कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यस दिन कागलाई मीठा खानेकुरा दिएर पूजा गर्ने चलन छ। कागले शुभ समाचार ल्याउँछ भन्ने धार्मिक विश्वास पनि रहिआएको छ।

कागको धार्मिक महत्त्वसँगै वातावरणीय भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ। काग तिहारको परम्परालाई आफ्नो विशिष्ट कलाकारितासँग जोडेर दुई दशकभन्दा लामो समयदेखि निरन्तरता दिँदै आएका दुलालको अभियानले नेपाली मौलिक संस्कृति, चराचुरुङ्गीको संरक्षण र जैविक विविधताको महत्त्वलाई नयाँ पुस्तामाझ चिनाउने प्रयास गरेको छ।

images
प्रकाशित मिति :कार्तिक २२, २०८३ शनिवार - ०८:५२:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology