ललितपुर, जेठ १४ । कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको बुधबार कोरोनाको कारण मृत्यु भएको जिल्ला जनस्वाथ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरेका हुन् । उनको बुधबार बेलुका ७ बजे मृत्यु भएको हो । मृतकको शव अस्पतालमै छ।
जेठ ११ गते पाटन अस्पताल पुगेका ती पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै इमाडोलस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो। जेठ ११ गते अस्पतालको आईसीयूमा राखिएका उनलाई १२ गते भेन्टिलेटरमा सारिएको थियो। १२ गते भेन्टिलेटरमा राखेपछि उनको थ्रोट स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। स्वाब परीक्षणको पीसीआर रिपोर्ट मृत्युपछि पोजिटिभ आएको डा. गेलालले बताए ।
प्रहरी स्रोतका अनुसार मृतक कलेजो सम्बन्धि रोगबाट ग्रसित थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १/१ जनाको मृत्यु भइसकेको छ।