Logo

आइतवार, श्रावण २४ गते २०८३

images

संक्रमित भेटिएको सुनाकोठी सील गरिएन, एरियाको विषयमा प्रहरी अन्योलमा, जनस्वास्थ्य कार्यालयको जवाफ यस्तो

संक्रमित भेटिएको सुनाकोठी सील गरिएन, एरियाको विषयमा प्रहरी अन्योलमा, जनस्वास्थ्य कार्यालयको जवाफ यस्तो

दैनिकी न्यूज

१८, जेठ २०७७
संक्रमित भेटिएको सुनाकोठी सील गरिएन, एरियाको विषयमा प्रहरी अन्योलमा, जनस्वास्थ्य कार्यालयको जवाफ यस्तो
images

ललितपुर । ललितपुरमा कोरोनाबाट संक्रमित २३ वर्षीय महिला बसेको क्षेत्रमा अहिलेसम्म सील गरिएको छैन । धरान सुनसरीकी ती महिलामा कोरोना भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । संक्रमित भेटिएको ललितपुर महानगरपालिका २७ नख्खुखोला किनारमा बस्दै आएकी ती महिला बसेको स्थानवरपर अरुलाई संक्रमण नफैलियोस भनेर सील गर्नुपर्ने भएपनि अहिलेसम्म त्यसो गरिएको छैन ।

सुत्केरी ती महिला ५ जनाको परिवारसहित बस्दै आएकी छिन् । दैनिकीन्युज टीमले संक्रमित महिला बस्ने स्थान वरपर महानगरपालिकाका जनप्रतिनिधि, प्रहरी र जनस्वास्थ्य कार्यालयले के गर्दैछ भनेर बुझ्ने प्रयास गरेका छौं । शनिबार कोरोना पुष्टि भएपछि आइतबार विहान ९ः३० बजेसम्म प्रहरी सबैभन्दा बढी अन्यौलमा रहेको थियो । कहाँको प्रहरी युनिटले सो क्षेत्रलाई हेर्ने भन्नेमा प्रहरी अन्योलमा थियो ।

यसो भन्छन् २७ का वडा अध्यक्ष बाबुराजा महर्जन
शनिबार करिब ४ बजेको समय थियो होला । सुनाकोठी क्षेत्रमा जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षकसहितको टोली आउनु भएको रहेको छ । स्वास्थ्यको डा.खगेश्वर गेलालले मलाई फोन गर्नुभयो । तपाई कता हुनुहुन्छ ? तुरुन्त भेट गर्नुपर्यो भन्नुभयो । मैले सोधेँ किन सर ? म सुनाकोठीमै छु । तपाईको एरियामा एक जना मान्छे कोरोना संक्रमित भएको पुष्टि भएको छ, ठाउँ देखाइदिनु पर्यो भन्नुभयो ।

म पनि उहाँसँग सो स्थानमा गएँ । त्यो ठाउँ ललितपुर महानगरपालिका वडा नं. २७ र २२ को सिमाना नख्खुखोला हो, अलि एकान्त ठाउँ छ । अरु मानिसको त्यति आउ जाउ नहुने ठाउँ हो त्यो ।

हाम्रो टोली पुग्नेवित्तिकै ती महिला रुन थालिन । उहाँहरु संक्रमित महिलाको श्रीमान, बहिनी, बहिनीको श्रीमान् र सासुलगायत गरी ५ जना बस्नु हुँदोरहेछ । हामी पुग्दा टहरामा उहाँको श्रीमान मात्र थिए । अरु तरकारी फार्ममा काम गर्दै रहेछन् । महिला रुन थालेपछि गेलाल सरले ती महिलालाई सम्झाइ बुझाइ गर्नुभयो । हात धुने तरिका, सुरक्षित हुने उपाय सिकाइदिनु भयो ।

त्यसपछि उहाँले एम्बुलेन्स बोलाउनु भयो, ४५ मिनेटपछि एम्बुलेन्स आयो । एम्बुलेन्समा ती महिलालाई पाटन अस्पताल लगियो । सुनाकोठी क्षेत्रलाई सुरक्षित बनाउन जनप्रतिनिधिको हैसियतले मैले युवाहरुलाई परिचालन गरेर दिनरात खटिरहेका छौ । केहीदिनअघि भारतबाट एक हुल मानिस आएपछि हामीले तीनिहरुलाई घर फर्कादियौं ।

जनचेतनाको कार्य पनि गरिरहेका छौं । तर, नयाँ मानिसको आवागमन नभएको त्यो ठाउँमा कसरी ती महिला संक्रमित भइन भन्ने हाम्रो चासो छ । १२ गते दिएको स्वाबको रिपोर्ट १७ गते आयो । स्वाबको रिपोर्ट नआउँदै किन किष्ट हस्पिटलले ती महिलालाई डिस्चार्ज गरेको हो ? अस्पताल व्यवस्थापनको लापरबाही हो की ? मेरो प्रश्न त्यहाँ छ ।

धन्न मुख्य शहरको नेवार समुदायका महिलामा देखिएन । नेवार समुदायको भए धेरै मानिसको ओहोर दोहोर हुन्थ्यो । धेरै मानिस संक्रमित हुने खतरा हुन्थ्यो ।

कसको एरिया हो भन्ने मै प्रहरी अन्योलमा
सुनाकोठीमा एकजनामा कोरोना संक्रमित भएको समाचार आएपछि प्रहरीमा खैलाबैला मच्चियो । दैनिकीन्युज टीमले प्रहरीलाई फोन गर्यो । चापागाउँ वृत्त, सातदोबाटो वृत्त, बुंगमती प्रभागमा । सबैले आफ्नो एरिया नभएको बताए । अन्ततः महनगरीय प्रहरी परीसर जावाखेलले सातदोबाटोको एरिया पर्ने निर्देशन दियो । त्यसपछि प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा स्वास्थ्यको टिमसँग पुग्यो । ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले स्वास्थ्य सम्बन्धी सम्पूर्ण जिम्मेवारी जनस्वास्थ्य कार्यालयको भएको बताए । ‘हामीले कुनै अप्ठेरो परिस्थिति आयो भने उहाँहरुलाई सहयोग गर्ने हो’, राईले भने, ‘स्वास्थ्य कार्यालयको निर्देशनलाई हामीले मान्ने हो ।’ प्रहरीलाई स्वास्थ्यसम्बन्धी प्राविधिक ज्ञान नहुने उनले बताए । तर, ‘सो क्षेत्र सील गर्नु नपर्ने एकान्त ठाउँ रहेछ, उहाँहरु क्वारेन्टाइनमा बसेको जस्तै रहेछ’, एसएसपी राईले जवाफ दिए ।

र, जनस्वास्थ्य कार्यालयको जवाफ यस्तो छ
सुनाकोठीकी एक महिला संक्रमित भएको हामीले थाहा पाएसँगै हाम्रो टोली तत्काल त्यसतर्फ गएको हो । जनप्रतिनिधि, प्रहरी र हाम्रो रोहबरमा ती महिलालाई पाटन हस्पिटल ल्यायौं । तरकारी फार्म हाउस भित्रको टहरामा उहाँहरु ५ जना बस्नुहुँदो रहेछ । उहाँहरु बसेको ठाउँ पनि एक प्रकारको क्वारेन्टाइन जस्तै रहेछ । हामीले त्यस ठाउँ सील गर्नु नपर्ने निर्णयमा पुग्यौं । उहाँहरुको परिवारलाई सचेतना र सुरक्षाको उपाय जानकारी दियौं ।

हात धुनेदेखि कसरी सुरक्षित बस्ने लगाएतका कुरा पाँचैजना परिवारहरुलाई सिकायौं । ५ दिन पछि उहाँहरुको परिवारको सम्पर्क विवरण खोजी गछौं । उहाँको परिवारलाई मास्क, सेनिटाइजर जस्ता सामान दियौं । सरकारको अहिलेको नीति पनि संक्रमित देखिएपनि ४ घण्टा भन्दा बढी समय सिल गर्ने नपाउने भन्ने भएकाले बस्ती नभएको एकान्त ठाउँमा हामीले सील गरेनौं तर, उहाँहरुको सम्पर्कमा नियमित हुनेछौं ।

यो पनि पढ्नुहोस

को हुन्, ललितपुरमा शनिबार भेटिएका कोरोना संक्रमित ?

ललितपुरसहित ५३ जिल्लामा संक्रमण पुष्टि , २४ घण्टामा १ सय ८९ संक्रमित थपिए

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १०:५३:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology