काठमाडौ, जेठ १७ । शनिबार देशभर कोरोना भाइरस (काभिड–१९) बाट १ सय ८९ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ४ सय १ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १ सय ८९ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
हालसम्म ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ ।
पिसिआरबाट ६६ हजार ७ सय २९ र आरडिटीबाट १ लाख ७ हजार ५५ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म २ सय १९ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज १३ जना डिस्चार्ज भई घर फर्किएका छन् ।
त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर र अर्घाखाँचीमा एक/एक गरी ६ जनाको मृत्यु भइसकेको छ ।