Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बालकुमारी घटना छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने

बालकुमारी घटना छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने

दैनिकी न्यूज

१६, पौष २०८०
बालकुमारी घटना छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने
images

ललितपुर । सरकारले ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोग गठनका लागि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतवार निर्देशन दिएका थिए । गृह मन्त्रालयले आयोग गठनसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा पेस गर्नेछ ।

आज सोमवार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उनको भनाइ छ । आयोगले सोमवारदेखि नै काम गर्नेछ ।

मन्त्री ज्वालाले पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गर्ने जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले आवश्यक निर्देशन दिइसक्नुभएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा आवश्यक निर्णय गर्नेछ ।’

बालकुमारी घटनामा प्रहरीको गोली र कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।साथै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो ।

गृह मन्त्रालयले त्यही दिन नै बालकुमारी घटनाको छानबिनका लागि एक समिति गठन गरिसकेको छ । तर मृतकका आफन्तहरुले अर्को छानविन समिति गठन नगरेसम्म मृतकका लाश नउठाउने बताउदै आएका थिए । सरकारले शनिवार मात्रै ललितपुरका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई गृह मन्त्रालय फिर्ता बोलाएको छ ।

एसएपी शाह उहिले देखिनै विवादित छवि भएका प्रहरी अधिकृत हुन्। उनको कार्यशैली र नियतमाथि पटकपटक प्रश्न उठ्दै आएको छ। उनी जहाँ जान्छन्, ‘डनपारा’ देखाइहाल्छन्। शाहले देखाउने दादागिरीले उनको छविमाथि मात्रै होइन्, नेपाल प्रहरीको छविमाथि नै आँच आइरहेको छ।
तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभागबाट शाहलाई नेपाल प्रहरीमा समायोजन गरेका थिए। शाह रौतहट प्रहरी प्रमुख हुँदा पनि विवादित बनेका थिए। रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई एसएसपी शाहले लागूऔषध राखेर फसाउन खोजेका थिए। उनले प्रहरीलाई नै लागूऔषध राख्न लगाएर पत्रकार मोहम्मदलाई पक्राउ गरि फसाउन खोजेका थिए। तर, सिसिटिभि फुटेजबाट उक्त कुरा खुलेको थियो। निर्दोष पत्रकारलाई लागूऔषध राखेर फसाउन खोजेको प्रकरणमा उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको थियो। घटनाको छानबिन गर्न एसएसपी कृष्ण महतको संयोजकत्वमा ४ सदस्यीय समिती गठन गरेर शाहलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको थियो।

बालकुमारी घटनाको छानविन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश लम्साल, इपिएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

डीएसपी लम्साल यसअघि वृत्त महाराजगञ्जको प्रमुख रहँदा कोभिडको समयमा काम गरेर घर फर्कने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति अस्पतालका डाक्टरमाथि कुटपिट गरेका कारण कारबाहीमा परेका थिए । अस्पतालबाट ड्युटी सकी हातमा एप्रोन बोकेर गइरहेका चिकित्सकलाई हौसला दिनुपर्नेमा उल्टै निर्घात कुटपिट गरेर बहादुरी देखाउँदा उनी कारवाहीस्वरूप महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा तानिएका थिए । डीएसपी लम्साल जुवाडे पक्राउको काण्डमा पनि आर्थिक विवादमा परेका थिए । लम्साल निकै विवादित डीएसपी हुन् । डीएसपी लम्साल एमाले निकट मानिन्छन् । एमालेका नेताहरूको आडमा लम्सालले धेरै ठाउँहरूमा उत्पात मच्चाउँदै आएका बेला बालकुमारीमा काण्ड गरेका छन् ।

दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) मा सीप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाहरूले शुक्रबार ईपीएस शाखा कार्यालय ग्वार्कोनजिक आन्दोलन गर्ने गरिरहेका थिए । युवाहरू बिहीबारैदेखि शाखाबाहिर पुगेर आन्दोलन गरिरहेका थिए ।

घटना हुने दिन विहान राष्ट्रिय अनुसन्धानले जिल्लामा अप्रिय घटना हुन सक्ने औल्याउदै थप सुरक्षाकर्मी (जनपथ र शशस्त्र प्रहरी) बढाउनु पर्ने सुझाव दिएको थियो । प्रहरी प्रशासनले सो सुझाव कार्यान्वयन नगर्दा अप्रिय घटना घटेको बताइएको छ ।

 

यो पनि पढ्नुहोस

ललितपुरका सीडीओ गृह मन्त्रालय र एसएसपि हेडक्वार्टर तानिए

बालकुमारी घटनामा मृत्यू भएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने

बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी र मन्त्री ज्वालाका पीएसओ निलम्बित

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित ७ जना घाइते

images
प्रकाशित मिति :पौष १६, २०८० सोमवार - ०६:४१:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology