काठमाडौँ । बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोगको आदेश दिने प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । बालकुमारी घटनामा दुई जना युवाको मृत्यु भएपछि मन्त्री ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको हो ।
प्रदर्शनका क्रममा अछाम, चौरपाटी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २१ को वीरेन्द्र शाह र दैलेख, महावु गाउँपालिका वडा नं। ६ घर भई हाल भक्तपुर बस्ने बर्ष २३ को सुजन राउतको मृत्यू भएको थियो। । बालकुमारी घटनामा पीएसओ र प्रहरी अधिकारीको कमजोरी देखिएकाले निलम्बन गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।
छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताए । प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो ।
शनिबार बिहान प्रधानमन्त्रीले गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरुसँग बालकुमारी घटनाबारे ब्रिफिङ लिएका थिए ।
कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो ।