Logo

सोमवार, श्रावण २५ गते २०८३

images

थापाले राप्रपा छोडे, कुन पार्टीमा जान्छन् उनी ?

थापाले राप्रपा छोडे, कुन पार्टीमा जान्छन् उनी ?

दैनिकी न्यूज

१०, श्रावण २०७७
थापाले राप्रपा छोडे, कुन पार्टीमा जान्छन् उनी ?
images

काठमाडौं । राप्रपाका वरिष्ठ नेता सुनीलबहादुर थापाले पार्टीबाट राजीनामा दिएका छन् । थापासहित राप्रपाका केन्द्रिय र धनकुटा जिल्लाका ३१ जनाले शनिबार पार्टीबाट राजीनामा दिएका हुन् । थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले सयुक्त रुपमा पार्टी परित्याग गरेका हुन् ।
स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत रहेका थापासहितका नेताले अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई राजीनामापत्र बुझाएका हुन् । राप्रपाको धनकुटा जिल्ला, नगर तथा गाउँ इकाइ समितिका सबै सदस्यले राप्रपा परित्याग गरे । पार्टीमा गणतन्त्रको पक्षमा वकालत गर्दै आएका थापा राप्रपाले लिएको राजतन्त्र र संघीयताविरोधी लाइनप्रति असन्तुष्ट थिए । थापा राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य समेत थिए ।

राप्रपाको द्वैध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले शर्मनाक पराजय भोग्नुपरेको पनि थापाले आरोप लगाएका छन् ।

थापाले संविधान निर्माणमा निःसर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य भइरहेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । उनले भनेका छन्, ‘स्वार्थ र परिस्थितिअनुकूल विचार, सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आमरूपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरूको सपनामा पनि ठेस पुगेको छ ।’

पार्टी संस्थापकहरूले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिबद्धता र आमजनमतविपरीत पार्टी गएकोमा खबरदारी गर्दै आएको, तर पार्टीले सुनुवाइ नगरेको थापाको आरोप छ । थापाले राजीनामापत्रमा भनेका छन्, ‘उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा प्रजातान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने गरी हामी आजका मितिदेखि राप्रपाको सबै भूमिका र तहबाट अलग भएको घोषणा गर्दछौँ ।’

थापासहितका ३१ जना नेपाली कांग्रेस प्रवेश गर्ने तयारी भएको स्रोतले जनाएको छ । कांग्रेसका एक केन्द्रिय सदस्यले दिएको जानकारी अनुसार थापालाई कांग्रेसमा महत्वपुर्ण जिम्मेवारी दिइनेछ ।

images
प्रकाशित मिति :श्रावण १०, २०७७ शनिवार - २१:१४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology