काठमाडौं । सरकारले चेत ११ गतेदेखि देशभर लागू गरेको लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । ४ महिनादेखि जारी लकडाउन मंगलबार मध्यरातीदेखि अन्त्य गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारले अन्तिम पटक थप गरेको लकडाउनको समयावधि विहीबार सकिँदै थियो ।
आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए। लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए।
सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए।
भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ।