बारा । कोरोना भाइरस (कोभिड–१९) मा नियन्त्रण भएको दाबी गर्दै सरकारले सार्वजनिक यातायात सञ्चालनको अनुमती दिएसँगै बारामा ४६ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ ।
सोमबार आएको नतिजामा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजेटिभ पाईएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी दिए । पण्डितदेवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका ३, सुवर्ण गाउँपालिकाका ३ र सर्लाहीको धनकौल घर भई बारामा कार्यरत ६ गरि ४६ जनामा कोरोना पोजेटिभ रहेको प्रमुख जिल्ला अधिकारी पंडितले जानकारी गराए ।
कोरोना पोजेटिभ भेटिएकाहरु मध्ये ३४ जना पुरुष र १२ जना महिला संक्रमित रहेका छन् । संक्रमित मध्ये देवताल गाउँपालिकाका वडाध्यक्ष, स्वास्थ्यकर्मी र अन्य कर्मचारी समेत रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैबीच बारामा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कामका बाहेक अन्य कोही पनि नागरिक घरबाहिन ननिस्कन आग्रह गरिएको छ । त्यसैगरी अत्यावश्यक सेवाका बाहेक अन्य सम्पूर्ण पसल पूर्ण रुपमा बन्दा गराउने प्रशासनले निर्णय गरेको छ ।
