ललितपुर । मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले ललितपुर महानगर ३ का वडाध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।
शनिबार बेलुका ललितपुर महनगर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई पक्राउ गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । महर्जनले नक्कली नाता बनाउन सिफारिस गरेको आरोप छ ।
अबैध रुपमा मिर्गौला प्रत्यारोपण गरिएको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका ३ डाक्टार, कानुनी सल्लाहकार र जनप्रतिनिधिलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
ब्युरोको टोलीले चिकित्सकहरू डा. राकेशकुमार बर्मा, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती, अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्ले र ललितपुर–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन र जिल्ला प्रशासन कार्यालय, चितवनका अधिकृत रामचन्द्र ढकाललाई पक्राउ गरेको हो ।
केही महिनाअघि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताए । यसबारे २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने उनले जानकारी दिए ।