काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानरपालिका वडा नं. १० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौं महानगरपालिका वडा नं. १० संखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो। फोक्सोमा पानी जमेको र मिर्गौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।
यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। मिर्गौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो। असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए। २१ गते स्वाबको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
यस्तै, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका वडा नं. ६ का ४५ पुरुषको पनि असार २५ गते नै निधन भएको छ। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा असार २२ गते कोरोना पुष्टि भएको थियो।
योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।