काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने विभिन्न गतिविधि भएको भन्दै पार्टी फुट्न सक्ने जनाउ दिएका छन् ।
शनिबार बेलुका एक्कासी मन्त्री र सल्लाहकारहरुलाई बालुवाटार बोलाएर उनले आफूमाथि पदबाट हटाउने खेल रचिएको भन्दै ‘बाइ स्टेप बाई फोर्स’ कदम चाल्न लागेको र मन्त्रीहरुले आफ्नो कित्ता छुट्याउन निर्देशन दिए ।
‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईंहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक मन्त्रीले भने, ‘ स्थायी कमिटीमा केही हुल्लडहरुले मेरो राजीनामा मागेका छन्, त्यो म मान्दिनँ। दुबै पदबाट राजीनामा दिन्न।’
प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग सुरुमै ‘ठूलो षडयन्त्र’ भइरहेको भन्दै ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने’ र आफुलाई ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको’ बताएका थिए।
पछिल्लो परिस्थितिबारे परामर्श गर्न प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुवाटारमा बोलाएको परामर्श बैठकमा यस्तो कडा धारणा राखेका हुन्।
प्रधानमन्त्रीपछि बैठकमा मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुसाल, पार्वत गुरुङ लगायतले बोलेका थिए।
शनिबार साँझ शितलनिवासमा राष्ट्रपतिसँग भेटेर फर्केपछि मन्त्रीहरूसँग पछिल्लो परिस्थितिबारे परामर्श गरेको उनका सल्लाहकारहरुले बताएका छन्।
पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसँग परामर्श गरेका हुन्।