काठमाडौं । सुनसरी, बारा, तेह्रथुम र प्युठानका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
सुनसरी, ईटहरी उपमहानगरपालिका–१७ स्थित सडकमा को ११ प २६५८ नम्बरको मोटरसाइकलले को २३ प ५५५६ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा को ११ प २६५८ नम्बरको मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–७ बस्ने २० वर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै मोटरसाइकलका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
बारा, कलैया उपमहानगरपालिका–२३ कलैयास्थित सडकमा ना ३१ प ७८३९ नम्बरको मोटरसाइकल र ना १० प १०२४ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा ना १० प १०२४ नम्बरको मोटरसाइकलका चालक सोही उपमहानगरपालिका(२ बस्ने २५ वर्षीय रितिक यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका यादवको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तेह्रथुम, आठराई गाउँपालिका–५ सुकेपोखरी सार्की डाँडास्थित सडकमा मे १ त ६२१९ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिका–५ बस्ने ३८ वर्षीय ललित खवासको घटनास्थलमै र गम्भीर घाइते भएका सोही गाउँपालिका–४ बस्ने ४० वर्षीय श्याम मगरको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ५ जनामध्ये ३ जनाको समर्पित अस्पताल पाँचथर र २ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्युठान, सरूमारानी गाउँपालिका–६ मोतीपुरस्थित सडकमा ना ७ ख ८९३८ नम्बरको टिपर सडकबाट अन्दाजी ६ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा टिपरका चालक नौबहिनी गाउँपालिका–६ पिपलटारी बस्ने ३० वर्षीय रोशन थापा र सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय झक बहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–७ लुप्लुङबाट चुनढुंगा लिई दाङको कालाकाटेतर्फ जाँदै गरेको अवस्थामा उक्त टिपर दुर्घटना भएको हो ।