ललितपुर । बागमती प्रदशमा मात्रै ५०५ जना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । त्यसमध्ये पाँच जनाको मृत्यु भइसकेको छ भने १८५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बुधबारसम्मको विवरणअनुसार उपत्यकाका तीन जिल्लामा १५५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले दिएको बुधबारसम्मको विवरणअनुसार उपत्यका बाहेक रसुवामा नौ, नुवाकोटमा १९, धादिङ्मा १२२, चितवनमा ७६, सिन्धुलीमा ११, मकवानपुरमा १७, रामेछापमा २८, दोलखामा चार, सिन्धुपाल्चोकमा ३१ र काभ्रेपलाञ्चोकमा आठ जना छन् ।
यसरी शुरु भएको थियो नेपालमा सङ्क्रमण
चीनको उहानबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड–१९ पुष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते कोरोना सङ्क्रमण रहेको पुष्टि गरिएको थियो । मुलुकमा जेठ पहिलो सातापछि भने सङ्क्रमणको गति बढेको थियो । गत माघदेखि शुरु भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो ।
त्यसपछि फागुनमा नदेखिएको सङ्क्रमण चैतमा पुनः फेला परेको थियो । फ्रान्सबाट कतारको दोहो हुँदै चैत ४ मा नेपाल आएकी युवतीको परीक्षण गर्दा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको सङ्क्रमण अहिले दैनिक ४०० देखि ६०० को हराहारीमा देखिँदै आएको छ । पहिलोपटक चीनको उहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि नेपालमा फैलिएको हो । रासस