काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि दुई केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह १२ बजेदेखि भएको वार्ता पौने ३ बजेसम्म चलेको थियो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि थिए ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र प्रचण्डबीच विवाद समधानका लागि निर्णायक वार्ता भइरहेको हो । यसैबीच पार्टी फुटको बाटोमा जान लागेको र त्यसलाई रोक्नको लागि भन्दै पार्टीभित्रका ओली, प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका ११ जना नेताहरुको निष्कर्ष बोकेर कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल बालुवाटार जाने तयारीमा रहेका छन् ।
वार्ता र संवादको माध्यमबाट जारी विवाद अन्त्य गरिनुपर्ने, यसअघि एमाले र माओवादी केन्द्र एकता गर्दा भएको सहमति पालना गरेर जानुपर्ने लगायतको निष्कर्ष निकालेर सोही सहमतिको सूत्र बोकेर भुसाल बालुवाटार जान लागेका हुन् । नेकपाको अघिल्लो साताको बुधबारदेखि जारी स्थायी समितिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि पार्टी फुटतिर उन्मुख भएको छ । सोही फुट रोक्नको लागि दोस्रो तहका नेता सक्रिय भएका हुन् ।