ललितपुर । ललितपुरमा कोरोना संक्रमण (कोभिड १९) भएर थप एकजनाको मृत्यु भएको छ । सानेपामा रहेको स्टार हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।
रौतहट हतुवा विजयपुर नगरपालिका ७ का ती युवाको स्वास्थ्यमा समस्या देखिएपछि रौतहटबाट काठमाडौं वीर अस्पतालमा उपचार गराइएको थियो । तर, उनको स्वास्थ्य अवस्था जटिल बनेपछि आइतबार बेलुका साढे ६ बजे थप उपचारका लागि स्टार अस्पताल लगिएको थियो ।
अस्पतालको भेन्टिलेटमा उपचारकै क्रममा ती युवाको आइतबार बेलुका साढे १० बजे मृत्यु भएको र उनको पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल प्रसासनले जनाएको हो । ‘उपचारका क्रममा मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि भएको छ’, राजदल गणका प्रमुख उत्तम सापकोटाले भने ।
ती युवाको शव व्यवस्थापनको लागि नेपाली सेनाको स्पेशल युनिट परिचालन गरिएको उनले बताए छ । कोरोनाको कारण युवाको मृत्यु भएपछि सुरक्षित रुपमा शव व्यवस्थापन गराउन नेपाली सेना राजदल गणको युनिट खटिएको हो । ललितपुरमा यसअघि कोरोना के कारण अन्य दुईजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टार अस्पतालमा निधन भएका व्यक्तिमा कोरोना पुष्टि भएको आधिकारिक घोषणा गरेको छैन । अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि अहिले उनको उपचारमा खटिएका १४ जना चिकित्सक तथा स्वास्थ्य कर्मीलाई पनि क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणको तयारी भइरहेको छ ।