काठमाडौँ । बिहीबार लागूऔषध नियन्त्रण ब्यूरोले महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत इन्सपेक्टर रुद्रबहादुर शाहीलाई लागूऔषध कारोबारीसँग कनेक्सन देखिएको आरोपमा पक्राउ गर्यो ।
शाही पक्राउ परेको खबरले मिडियामा उच्च स्थान पायो । शाहीसँगै अन्य ४ जना पनि पक्राउ परेका थिए । तर, इन्स्पेक्टर शाहीको जस्तो चर्चा भएन । तस्करी गिरोहमा इन्स्पेक्टर शाहीको प्रमुख भूमिका देखिएको प्रहरीको दाबी छ ।
त्यही समूहमा इन्स्पेक्टर शाहीसँगै एक पाइलट पनि पक्राउ परेको खुलेको छ । सो प्रकरणमा पाइलट भूपेश शेरचनसमेत पक्राउ परेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
शेरचन नेपाल एयरलाइन्सका पूर्वपाइलट हुन् । डिप्रेसनमा आफू लागूऔषध कारोबारमा लागेको प्रहरीसमक्ष उनले बताएका छन् । राजधानीको नक्सालमा बस्दै आएका ४८ वर्षीय नेपाल एयरलाइन्सका स्थायी जागिरे भुपेश ट्वीनेटर विमान चलाउँथे । तर, जागिर सुरु गरेको केही वर्षमै उनले राजीनामा दिए ।
भुपेश लामो समयदेखि लागुऔषध दुव्र्यसनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । फर्मस्युटिकल्स ड्रग्स सेवन गरिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीको प्रारम्भिक सोधपुछमा भुपेशले जागिर सुरु गरेपछि केही विमान दुर्घटना भएको र जसमा मिल्ने साथीहरु गुमाएको बताएका छन् । ‘त्यसपछि डिप्रेसनमा पुगेछु । डिप्रेसनबाट मुक्त भइन्छ कि भनेर लागुऔषध सेवन सुरु गरेँ,’ भुपेशले प्रहरीसमक्ष बताए ।
लागू औषध कारोबारीको दुनियाँमा ‘पटके कारोबारी’को रुपमा चिनिने बर्दिया ठाकुरबाबा घर भई पेप्सिकोला बस्ने ४३ वर्षीय सन्तोष कुमार शाहको फ्ल्याटमा सर्च अपरेशन चलाउँदा अन्य ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्यमा उदयपुर, त्रियुगा नगरपलिका घर भएका ३६ वर्षीय एलिसन बस्नेत, काठमाडौं नारायणचौरका ४८ वर्षीय भुपेश शेरचन, ज्ञानेश्वरका ४८ वर्षीय अभिनाश थपलिया र बाँके नेपालगन्जका रुद्र बहादुर शाही रहेका छन् । शाही महानगरीय प्रहरी परीसर ललितपुरबाट बिहीबार कार्यकक्षबाटै पक्राउ परे । उनी अपरेशन शाखामा कार्यरत छन् ।
साह र बस्नेतलाई ब्यूरोले पक्राउ गरेको थियो । उनीहरुको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट १ हजार १ सय ४० ट्याब्लेट, स्पामो प्रोक्स्भिन क्याप्सुल ३ सय ३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको व्युरोका प्रवक्ता एसपी प्रविन धितालले जानकारी दिए । त्यस्तै इस्पेक्टर शाहीको गाडीमा रहेको झोलामा ७ बोत्तल लागू औषध डायलेक्स–डीसी र ४६ ट्याब्लेट नाइट्रभेटसमेत बरामद गरेको छ । साहसँगको कनेक्सन शाही देखिएपछि शाहीलाई व्युरोले नियन्त्रणमा लिएको हो ।
शुक्रबार शाहीलाई जिल्ला अदालत काठमाडौँले ७ दिन र अन्यलाई १० दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ ।
इन्सपेक्टर शाही आफैंले सर्लाहीबाट ल्याए लागू औषध
पेप्सिकोलाबाट बरामद गरिएको लागू औषध इन्सपेक्टर रुद्रबहादुर शाहीले सर्लाहीबाट ल्याएको अनुसन्धानबाट थाहा भएको छ । इन्स्पेक्टर शाही नेपालगञ्जका हुन् । बर्दियाका सन्तोष कुमार शाहसँग उनको पुरानो दोस्ती थियो । लागू औषध कारोबारी सन्तोषले नै उनलाई लागू औषध कारोबारमा संलग्न गराएका थिए ।
लागू औषध कारोबारबाट आएको अवैध कमाईबाट शाहीले भैंसेपाटीमा आलिशान महल बनाएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हुँदा कार्यालय समयमा प्रहरीको आचरण विपरित कार्य गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको थियो र पछि उनको सरुवा महानगरीय प्रहरी वृत्त सातदाबाटोमा भएको थियो । सातदोबाटो वृत्तमा पनि सन्तोषजनक कार्य नगरेपछि उनलाई परीसर पठाइएको थियो ।
यो पनि पढनुहोस