काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्र बहादुर शाही बिहीबार कार्यकक्षबाटै पक्राउ परे । उनी महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार्यरत छन्।
विशेष सुराक पाएर लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोली त्यतिबेला चकित भयो, जब इस्पेक्टर शाहीको झोलामा ७ बोत्तल लागू औषध डायलेक्स–डीसी र ४६ ट्याब्लेट नाइट्रभेट फेला पर्यो । शाही लागू औषध सेवनकर्ता पनि भएको बताइएको छ ।
बिहीबार व्यूरोले काठमाडौंको पेप्सिकोलामा ‘विशेष अप्रेशन’ चलाएको थियो । त्यहाँ ठूलो परिमाणमा लागू औषधसहित चारजना लागू औषध कारोबारी गिरफ्तारीमा परे । उनीहरुको बयानका आधारमा इन्सपेक्टर शाहीलाई नियन्त्रणमा लिइएको व्यूरोले जनाएको छ ।
बर्दिया ठाकुरबाबा घर भई पेप्सिकोला बस्ने ४३ वर्षीय सन्तोष कुमार शाहको फ्ल्याटमा सर्च अपरेशन चलाउँदा चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सन्तोष कुमार शाह, उदयपुर त्रियुगा नगरपलिका घर भएका ३६ वर्षीय एलिसन बस्नेत, काठमाडौं नारायणचौरका ४८ वर्षीय भुपेश शेरचन र ज्ञानेश्वरका ४८ वर्षीय अभिनाश थपलिया छन् ।
पेप्सिकोलाको सो फ्ल्याटबाट डायलेक्स–डीसी ६ सय ६० बोत्तल, नाइट्राभेट १ हजार १ सय ४० ट्याब्लेट र स्पामो प्रोक्सीभन क्याप्सुल ३ सय ३० थान बरामद गरिएको व्यूरोका प्रवक्ता (एसपी) प्रविण धितालले जानकारी दिए ।
इन्सपेक्टर आफैंले ल्याए लागू औषध
पेप्सिकोलाबाट बरामद गरिएको लागू औषध इन्सपेक्टर रुद्रबहादुर शाहीले सर्लाहीबाट ल्याएको अनुसन्धानबाट थाहा भएको छ । इन्सपेक्टर शाही नेपालगञ्जका हुन् । बर्दियाका सन्तोष कुमार शाहसँग उनको पुरानो दोस्ती थियो ।
लागू औषध कारोबारीको दुनियाँमा ‘पटके कारोबारी’को रुपमा चिनिने सन्तोषले नै उनलाई लागू औषध कारोबारमा संलग्न गराएका थिए ।
लागू औषध कारोबारबाट आएको अवैध कमाईबाट रुद्रले भैंसेपाटीमा आलिशान महल बनाएको बताइएको छ । जिल्ला अदालत काठमाडौंले पाँच जनालाई ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।
इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हुँदा कार्यालय समयमा प्रहरीको आचरण विपरित कार्य गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको थियो र पछि उनको सरुवा महानगरीय प्रहरी वृत्त सातदाबाटोमा भएको थियो ।

यो पनि पढ्नुहोस
लागुऔषध कारोबार गरेको भन्दै प्रहरी निरीक्षक शाही पक्राउ