Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सर्वोच्च अदालतको आदेश, ‘लकडाउन नखुलुञ्जेल कर नउठाउनु’

सर्वोच्च अदालतको आदेश, ‘लकडाउन नखुलुञ्जेल कर नउठाउनु’

दैनिकी न्यूज

१, आषाढ २०७७
सर्वोच्च अदालतको आदेश, ‘लकडाउन नखुलुञ्जेल कर नउठाउनु’
images

काठमाडौँ । सर्वोच्चले अदालतले कर असुलीसम्बन्धी सूचना तत्काल कार्यान्वयन नगर्न यसअघि जारी अन्तरिम आदेश कायम रहनेगरी अर्को आदेश जारी गरेको छ । जेठ २८ गतेको उक्त आदेश खारेजीको माग गर्दै सरकारका तर्फबाट पेश भएको निवेदन अनुसारको आदेश अदालतले अस्वीकार गरेको छ । सरकारको माग दाबी अनुसार आदेश जारी नभएपछि कर असुलीका सरकारले यसअघि जारी गरेको सूचना अब कार्यान्वयन हुने छैन । अदालतको आदेशानुसार कर असुलीका लागि लकडाउन खुलेको कम्तीमा पनि ३० दिनको समय दिनुपर्नेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले सरकारको माग दाबी अनुसार आदेश अस्वीकार गरेको हो । सर्वोच्चले लिखित आदेश भने जारी गरिसकेको छैन ।

सर्वोच्चले जेठ २८ गते बन्दाबन्दीपछि ३० दिनभित्र कर तिर्ने समय प्रदान गर्न आदेश जारी गरेको थियो । सरकारले वार्षिक बजेट प्रस्तुत गरेसँगै जेठ २५ गतेसम्म कर तिर्न सूचना जारी गरेको थियो । उक्त सूचनाको विरोध भएपछि सरकारले पुनः असार ७ र १५ गतेसम्म कर तिर्न सक्नेगरी अर्को सूचना जारी गरेको थियो । उक्त सूचना उपर सर्वोच्चमा रिट दायर भएको थियो । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सूचना कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

अदालतले उक्त सूचना बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्णरुपमा खुलेपश्चात बाटोको म्याद बाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन आदेश गरेको थियो । बन्दाबन्दी पश्चात पनि केही अवधिसम्म सामाजिक दूरी लगायत अन्य विभिन्न सुरक्षित रहने उपायहरु अवलम्बन गर्नुपर्ने अवस्था परिस्थितिलाई विचार गरी विवरण र कर रावस्व दाखिल गर्नेगरी प्रक्रिया सरलीकृत गर्न पनि अदालतले आदेशमा भनेको थियो ।

सर्वोच्चले भने बन्दाबन्दीलाई पूर्ण रुपमा शून्य अवधि कायम गर्नेगरी जेठ १५ गते नै फैसला गरिसकेको छ । बन्दाबन्दी कस्तो अवस्थामा पूर्ण खुलेको मानिने भन्ने व्याख्या पनि सोही फैसलामा गरेको छ । बन्दाबन्दीको पूर्ण खुल्नुको अवस्थालाई अदालतले सार्वजनिक यातायात सञ्चालनसम्मको अवस्थालाई भनेको छ ।

सरकारले जारी लकडाउनको स्वरुप बदलेको छ । जेठ ३० गतेपछि स्वरुप बदल्दै व्यापार, व्यवसाय पूर्ण रुपमा सञ्चालनको अनुमति सरकारले दिएको छ । कतिपय व्यवसाय भने सञ्चालनमा आएका र्छैनन् । सरकारले असार १ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय पनि पूर्ण रुपमा नै सञ्चालनमा ल्याएको छ ।

सरकारले २५ जेठभित्रमा कर तिर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सूचनाको विरोध भएपछि कर तिर्ने समय ७ असारसम्म बढाइएको थियो ।

सरकारले लकडाउनलाई विस्तारै खुकुलो बनाउने भन्दै ५१ दिनको कार्ययोजना सार्वजनिक गरेको छ ।

सरकारले जारी गरेको नयाँ कार्ययोजना अनुसार पहिलो २१ दिनको मोडालिटी, त्यसपछिको १५ दिनको र त्यसपछिको १५ दिन मोडालिटी अपनाउने भन्दै ५१ दिनको कार्ययोजना सार्वजनिक गरिएको थियो ।

सरकारको यो मोडालिटी २० साउनमा सकिने छ । यो बेलासम्म लकडाउन पूर्ण रूपमा खुल्ने अवस्था आए त्यसको ३१ दिनपछि मात्र सरकारलाई कर उठाउने बाटो खुल्नेछ ।

अदालतले अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेसँगै २० साउनमा लकडाउन खुले त्यसको एक महिनापछि अर्थात् २० भदौपछि मात्र सरकारले कर उठाउन पाउनेछ ।

अदालतको यो आदेशपछि अब सरकारलाई कर उठाउन पनि चाँडो लकडाउन अन्त्यको घोषणा गर्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ ।

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - २०:३३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology