काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइने र जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।
गौतमका अनुसार पछिल्लो २४ घण्टमा देशभर ४२५ कोरोना संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् । ४२५ जना संक्रमित थपिए संगै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएका मध्ये ३७५ पुरुष र ५० महिला रहेका छन् ।
हालसम्म देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या भने ९७४ रहेको छ, जसमा पुरुष ८७७ र महिला ९७ रहेको छ । आज ६१ जना डिस्चार्ज भएका छन् । पुरुष ५५ र महिला ६ जना रहेका छन् ।
देशभर हालसम्म १ लाख ३३ हजार ३७७ पीसीआर परीक्षण गरिएको छ भने २ लाख १० हजार ७२१ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ पीसीआर परीक्षण गरिएको छ ।
देशरभका क्वारेन्टाइमा १ लाख ४३ हजार ६४१ मानिसहरु रहेका छन् भने देशभरका आइसोलेसनमा ४ हजार ७६७ कोरोना संक्रमित रहेका छन् ।
आज रुकुम (पूर्व) मा कोरोना भाइरसको विरामी देखिएको छ । योसँगै कोरोना ७३ जिल्लामा फैलिएको छ । त्यस्तै अहिले सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । गुल्मीका ३६ वर्षको एक युवकको मृत्यू भएको छ ।
यसैबीच भाडामा बस्नेहरुलाई बाहिरबाट आउँदा कोरोना परीक्षणको प्रमाणपत्र माग गरिएको भन्दै स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। अनावश्यक कोरोना परीक्षण गर्ने व्यवस्था नभएको भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई त्यसो नगर्न सचेत गराएको छ ।