काठमाडौं । सरकारले लकडाउन खुकुलो पार्ने संकेत गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी २ दिनभित्र पेस गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार समितिले ल्याएको कार्ययोजनापछि फेरि मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसले लकडाउनको नयाँ मोडालिटी तयार पार्नेछ । निरन्तरको लकडाउनको औचित्य नभएको भन्दै अवज्ञा हुन थालेपछि सरकार केही लचक हुने देखिएको हो ।
चैत ११ गतेदेखि देशभर लागू लकडाउन पटकपटक म्याद थप्दै पछिल्लो समय यही जेठ ३२ गतेसम्म लम्ब्याइएको छ।
लकडाउनको मोडालिटी परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा छलफल गरेका थिए।
बैठकले रोल्पामा बम विस्फोटबाट मृत्यु भएका ४ बालबालिकाका परिवारलाई ५र५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ।
गत वैशाख १८ गते रोल्पाको त्रिवेणी गाउँपालिका(७ मा भुइँमा गाडिएको बम पड्किँदा स्थानीय लालबहादुर केसीका ११ वर्षीया छोरी विमला र ५ वर्षीय छोरा विजय तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरवको मृत्यु भएको थियो।
यस्तै आजको मन्त्रिपरिषद् बैठकले संस्कृति पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव विष्णु नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
यसैगरी सामाजिक सुरक्षा ऐन संशोधन गर्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई यथावत रुपमै राखी कार्यन्वयन गर्ने पनि निर्णय गरेको छ ।