ललितपुर । नेपाल नगरपालिका संघले गोदावरी नगरपालिकालाई सहरी योजना, पूर्वाधार विकास र विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेकोमा पुरस्कृत गरेको छ । संघले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेको हो । नेपाल नगरपालिका संघले अन्य ४ विधामा अन्य नगरपालिकालाई पनि पुरस्कृत गरेको छ ।
संघीय मामिला मन्त्री भानुभक्त जोशीले गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । आर्थिक वर्ष २०७९–८० मा गोदावरी नगरपालिकामा भएको कामको मूल्याङकन गरी सहरी योजना, पूर्वाधार विकास र विपद व्यवस्थापनको क्षेत्रमा नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । सो विधामा गोदावरीसँगै भीमदत्त नगरपालिका पनि पुरस्कृत भएको छ ।
नगरपालिकाभित्र राम्रो काम गर्न सहयोग गर्ने, हौसला दिने नगरभित्रका सम्पूर्ण नगरवासी, जनप्रतिनिधि र कर्मचारी लगायत सम्पूर्णको महत्वपूर्ण भूमिका रहेको भन्दै नगर प्रमुख गजेन्द्र महर्जनले सबैमा धन्यवादज्ञापन गर्दै कृतज्ञता व्यक्त गरे ।
संस्थागत सुधार वित्तिय सुशासन कायम गर्ने नगरपालिकामा दाङको घोराही उपमहानगरपालिका सम्मानित भएको छ । स्थानीय आर्थिक विकास विधामा बुटवल उपमहानगरपालिका, सामाजिक विकास विधामा गौर नगरपालिका वन वातावरण, जलवायु परिवर्तन र उथ्थानशीलता विधामा रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका पुरस्कृत भएका छन् ।