ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै जोडबलमा अमेरिकी सैन्य सम्झौता एसपीपीलाई गठबन्धन सरकारले अस्वीकार गरेको बताएका छन्।
बिहीबार ललितपुरको साझा व्याक्वेटमा माओवादी केन्द्र जिल्ला समन्वयन समितिले ललितपुरका जनप्रतिनिधिलाई दिइएको बधाई तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
प्रचण्डले एसपीपी सम्झौता एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सन् २०१५ मा अघि बढाएको पनि दाबी गरे।
'एसपीपी सम्झौता २०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेला, उनै रक्षामन्त्री पनि भएको बेलामा एउटा सहमति गरेर अघि बढेको थियो‘, उनले भने, ‘एसपीपी नेपालमा त्यतिबेलै प्रवेश गरेको रहेछ भन्ने कुरा प्रष्ट भएको छ।‘
‘सन् २०१९ मा केपी ओली नै प्रधानमन्त्री हुँदा आईपीएसबारे राष्ट्रघात गरेका थिए। त्यो कुरालाई सम्झिँदै त्यतिबेलै एसपीपी स्वीकृत भएको कुरा सम्झियौँ। केपी ओली ले नै राष्ट्रघात गरेको हो‘ उनले भने, ‘उसैले राष्ट्रघात गरेको हो। तर उनले गठबन्धनले गरेका हुन् भनेका छन्।‘
उनले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खण्डन गरेको केही घण्टामै ओलीको पालामा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको पनि बताए।
'केपी ओली गुटका एकजनाले खण्डन गर्दै संसदमा प्रमाणित गर्न चुनौती दिएका थिए। तर दुई घण्टापछि पत्र नै फेला पर्योु, उनले भने, 'राष्ट्रघाती क्रियाकलाप सबै केपी ओलीले नै गरेका हुन्। नेपाल सरकारको अनुमतिले नै यो चिठी लेखेको सेनाले भनेको छ। बोधार्थ रक्षा मन्त्रालय र गृहमन्त्रालयलाई दिएको छ। त्यो काम नेपाली जनतालाई सिल्ली ठान्ने बेइमानी हो।'
उनले एसपीपी ठीक छैन भन्ने कुरा आफूले प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ गएर भनेको पनि उनले बताए। 'एमसीसी भन्दा एसपीपी अगाडि बढेर आएको छ। नेपाल कुनै पनि खालको सैन्य सम्झौतामा सहभागी हुँदैन। यदि यो सम्झौता गर्नु भयो भने देउवालाई गठबन्धन तोडिन्छ भनेको थिएँ', उनले भने, 'तर प्रधानमन्त्रीले बरु मर्न तयार छु तर यो सम्झौता गर्दिन भनेका हुन्।'
त्यसपछि गठबन्धन बसेर एसपीपी अस्वीकार गरौँ भनेको पनि बताए। एसपीपीविरुद्धको नेतृत्व माओवादी केन्द्रले नै गरेको उनको जिकिर थियो।

त्यस्तै उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिक धारालाई कता लैजाने भन्ने जिम्मा जनताले आफूहरूलाई दिएको बताएका छन् ।
प्रचण्डले स्थानीय तह चुनावमा आफूहरूले अपेक्षा गरेभन्दा कम सिट जिते पनि तेस्रो निर्णायक शक्तिका रूपमा रहेको बताए ।
'परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कतापट्टि लैजाने राजनीतिक धारालाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हामीलाई जनताले दिएका छन् । कहीँ न कहीँ यसको चाबी जनताले माओवादी केन्द्रलाई नै दिएका छन्, प्रचण्डले भने ।
सिटमा केही तलमाथि भए पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै आफूहरूको ठूलो सफलता भएको बताए । उत्पीडित वर्गको हकहित संरक्षण र संविधान जोगाउनका लागि पनि निर्वाचन सफलतापूर्वक हुनु आवश्यक रहेको उनको भनाइ थियो ।
'हामीले सोचेजति परिणाम आएन । यो पटक कम्तीमा पनि गठबन्धन ठीक ढंगले जाँदा र पार्टीले पनि मेहनत गर्दा हाम्रो १७० देखि १७५ सम्म आउँछ, एमालेको पनि १६०–१७० तिर झर्छ । र, हामी वामपन्थी आन्दोलनको पहिलो पार्टी हुन्छौँ र देशको दोस्रो पार्टी बन्छ भन्ने आकलन गरेका थियौँ । तर हामी १२२ सिटमा सीमित भएका छौँ,‘ उनले भने ।
सो अवसरमा स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारको कार्य उत्कृट गरेको भन्दै प्रेस सेन्टर नेपाल ललितपुर जिल्लालाई अध्यक्ष प्रचण्डले सम्मान गरेका थिए ।

कार्यक्रम माओवादी केन्द्र ललितपुर जिल्ला समन्वयन समितिका संयोजक शिव कट्टेलको सभापतित्वमा भएको थियो भने कार्यक्रम सञ्चालन सचिव दीपक पुलामीले गरेका थिए ।