ललितपुर । बागमती गाउँपालिकाको गठबन्धनले भ्रामक समाचार निकालेको भन्दै आपत्ति जनाएको छ ।
सोमबार केही अनलाइनमा बागमती पालिकाका वडामा एमालेलाई चुनाव प्रचारमा अबरोध गर्दै गाडी तोडफोड गरेको समाचार प्रकाशित भएपछी गठबन्धनले मंगलबार विज्ञप्ति निकालेको हो । संयुक्त विज्ञप्तिमा गठबन्धन शान्तिपुर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको जनाइएको छ ।
उसले चुनावी वातावरण बिथोल्न मिडिया प्रयोग हुन खोजेको शंका गरेको छ । 'भ्रामक समाचार प्रकाशित गरेकोमा हामी गम्भीर आपत्ति जनाउँछौँ,' गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कपोल्कल्पित समाचार प्रकाशन नगर्न र प्रमाण पेश गर्न चुनौती दिन चाहन्छौं ।' चुनावी वातावरण बिगार्न खोजिएको गठबन्धनले आरोप लगाएको छ ।
निर्वाचन आयोगसंग गठबन्धनले भ्रामक सूचना फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पनि गराएको छ । सोमबार ललितपुरबाट संचालित एक अनलाइनले 'नेकपा एमालेकोको चुनावी प्रचारमा गठबन्धन दलद्वारा अवरोध र गाडी तोडफोड' भन्ने समाचार प्रकाशन गरेको थियो । वडा नम्बर ३ भट्टेडाडाको सो समाचारले चुनावी वातावरण बिगार्ने उद्देश्य राखेको गठबन्धनले आरोप लगाएको छ ।
