काठमाडौं । काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान बालाजुको गंगा हल अगाडि मिनी बसले सडकमा हिँडिरहेका एक पुरुष र महिलालाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रका अनुसार अनुसार रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी अन्दाजी ५५ वर्षीया महिलाको मृत्यु भएको हो । बसको नम्बर खुल्न सकेको छैन । यद्यपी दुई तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरू गरेको छ।
डीएसपी मिश्रका अनुसार बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर फरार भएको थियो।