ललितपुर ।कांग्रेसको १४ औं महाधिवेशनबाट युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका छन् ।
थापा र शर्माको जितपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामात्र होइन, दिनभर राजनीतिक क्षेत्र नै तरंगित बन्यो । यी नेतालाई प्रमुख प्रतिपक्ष दल एमालेलगायत अन्य दलका नेताहरूले पनि बधाई दिए । सामाजिक सञ्जालबाट बधाईको ओइरो लाग्यो ।
सोमबार सम्पन्न निर्वाचनमा थापा र शर्मासँगै अन्य चार जना प्रतिस्पर्धी थिए । थापा शेखर कोइरालाको प्यानलबाट र शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । बिहीबार सम्पन्न मतगणनामा थापाले ३ हजार २३ मत र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् । थापाले प्राप्त गरेको मत उनको प्यानलका सभापति उम्मेदवार कोइरालाले पहिलो चरणमा प्राप्त गरेको भन्दा १ हजार ३ सय ३१ ले बढी हो । शर्माले पनि आफ्नो प्यानलका सभापतिका उम्मेदवार सिंहले भन्दा १ हजार ६ सय १३ मत बढी ल्याए ।
शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित हुँदा उनको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका प्रकाशशरण महत र प्रदीप पौडेल भने पराजित भएका छन् । महतले १ हजार ५ सय ५६ र पौडेलले १ हजार १ सय ९३ मत प्राप्त गरे । कोइराला प्यानलका मीनेन्द्र रिजालले ८ सय ९ र विमलेन्द्र निधि प्यानलका राजाराम कार्कीले १ सय ६ मत ल्याए ।
४५ वर्षीय थापा २०६७ मा सम्पन्न १२ औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा प्रवेश गरेका हुन् । उनी उतिबेला सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १३ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बने पनि पराजित भएका थिए । थापा केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ निर्वाचित हुँदा शर्मा भने सोही महाधिवेशनमा झापा जिल्ला सभापतिमा पराजित भएका थिए । १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्य हुँदै उनले पार्टी प्रवक्ताको जिम्मेवारी पाए ।