काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणमा भएको निर्वाचनबाट शेखर कोइरालालाई फराकिलो मतले हराउँदै देउवा निर्वाचित भएका हुन् । मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा देउवाले २७३३ मत पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो ।
शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो । १३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्