ललितपुर । सत्तारुढ नेपाली कांग्रेसले सर्वोच्च अदालतमा देखिएको विवादको विषयमा तत्कालै कुनै प्रतिक्रिया व्यक्त नगर्ने भएको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले अहिले पक्ष वा विपक्षमा लागेर बोल्ने बेला नभएको निष्कर्ष निकालेको हो ।
आइतबार बस्ने केन्द्रीय समिति बैठकमा यो विषय थप उठ्न सक्ने भए पनि कांग्रेसको यही नै प्रस्ट दृष्टिकोण भएको सहमहामन्त्री प्रकाश शरण महतले बताए । ‘न्यायालयको विवादमा सबैको ध्यानाकर्षण भएकै छ । त्यसबारे अहिले हामीले बोल्ने कुरा छैन,' बैठकमा उठेको धारणा उदृत गर्दै महतले भने, 'हामीभित्र छलफल भइरहेको छ । भोलि पनि हुनसक्छ । तर अहिलेको प्रस्ट कुरा भनेको न्यायालयभित्रैबाट निकास आउनुपर्छ भन्ने नै हो ।' शनिबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले भने न्यायालयमा देखिएको समस्याका कारण न्यायिक प्रक्रिया नै अवरुद्ध भएको भन्दै त्यसबारे सरकार र राजनीतिक दलहरु चुप लागेर बस्नु नहुने बताएका थिए । पौडेल समूहको शुक्रबारै न्यायालयमा देखिएको समस्याका विषयमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि संस्थापनइतर पक्षका १२ जना केन्द्रीय सदस्यहरुले विज्ञप्ति नै जारी गरेर न्यायालय विवादमा दलहरु चुप लागेर बस्न नहुने भनेका थिए । पौडेल समूहको भेलाको निष्कर्ष बमोजिम नै नेताहरुले शनिबारको बैठकमा न्यायालयको विवादका विषयमा प्रस्ट धारणा बनाएर निकास दिनुपर्ने प्रस्ताव गरेका थिए ।
जवाफमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवाद त्यहीं भित्रैबाट समाधान हुनुपर्ने बताएका थिए । देउवाले न्यायालयको विवादमा अहिले बोल्न नमिल्ने बताएका थिए । ‘राज्य सञ्चालनका लागि संविधानले तीन अंगहरु न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका रहने व्यवस्था गरेको छ । यी निकायको आ–आफ्नै अधिकार क्षेत्र छ ।'