सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई जिस्काउँदाको परिणाम भोग्न थालेको टिप्पणी गरेका छन् ।
सर्लाही सदरमुकाम मलंगवामा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन र महेन्द्र राय यादव निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसन एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा ओलीको सत्ता ढालेको बताउँदै अबको १५ दिनभित्र प्रदेश नम्बर–१ मा पनि अर्को सरकार बन्ने घोषणा गरे । ‘मैले माओवादी आगो हो, आगोसँग नखेल भनेर प्रधानमन्त्री हुँदा नै ओलीलाई भनेको थिएँ, तर उनले मानेनन्,' प्रचण्डले भने, ' फलस्वरुप आफू पनि बालुवाटारबाट बालकोट जानुपर्यो, तीन प्रदेश पनि गयो, अब प्रदेश १ जाँदैछ ।’ राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण गरेर नेकपा बनाउँदै वामपन्थीहरुलाई समाजवादतर्फ लाने योजना रहे पनि केपी ओलीको षड्यन्त्र, निरंकुश शैली, एकाधिकारवादी, अहंकारीका कारण बादशाहजस्तो रहेको दुई तिहाइको सरकार ढाल्नु परेको उनको भनाइ छ ।
मधेसी जनतासँगको प्रेमलाई ओलीसहितका केही तत्वहरुले भिलेन बनेर अलग्याउन खोजिरहेको प्रचण्डले आरोप लगाए । उनले मधेसी जनताको अधिकारका लागि संविधान संशोधन प्रस्ताव राखे पनि ओलीसहितका षड्यन्त्रकारीहरुले पास हुन नदिएको जिकिर गरे ।
ओलीलाई मधेस विरोधीको संज्ञा दिँदै उनले मधेसका मसिहा भनाउँदा महन्थ ठाकुर र राजेन्द्र महतो ओलीका मतियार बनेको आरोप लगाए । प्रविधिकरुपमा कुनै त्रुटी नभए प्रधानमन्त्री फर्केपछि नागरिकताको ऐन पारित हुने विश्वास दिलाए ।