परासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले छिटै नागरिकता विधेयक अघि बढाउने घोषणा गरेका छन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासकीय भवनको शनिबार उद्घाटन गर्दै प्रचण्डले नागरिकताविहीन मधेसी नागरिकको समस्या केही हप्तामा नै समाधान हुने बताए । आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा संसद्मा दर्ता गराएको नागरिकता विधेयक एमालेका अध्यक्ष केपी ओलीको कारण रोकिएको आरोप लगाउँदै उनले अब संसद्बाट नागरिकता विधेयक पास हुने ठोकुवा गरे । हिन्दीमा भाषण गरेका प्रचण्डले मधेससँग आफ्नो पुरानो प्रेम रहेकाले मधेसमा विद्यमान नागरिकता र भूमिहीन समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । एमाले अध्यक्ष ओलीको कारण रोकिएका विधेयक, विकास निर्माणका काम वर्तमान गठबन्धनको सरकारले पूरा गर्ने उनको भनाइ थियो । वर्तमान सरकारले चुनाव अगाडि नै भूमिहीन र सुकुम्बासीले जग्गा प्राप्त गर्ने भन्दै वर्तमान गठबन्धनको सरकारले जनचाहनाअनुसार काम गर्ने बताए । पाल्हिनन्दन गाउँपालिकाले १० करोडको लागतमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ ।