ललितपुर । नेपाली कांग्रेसले शनिबारसम्म कृयाशील सदस्यताको विवाद टुङ्गो लगाउने भएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुबीच शनिबारसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर वडा अधिवेशन अघि बढाउने सहमति भएको हो । देउवाले शुक्रबार नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरी क्रियाशील सदस्यताको टुंगो लगाएर समयमै महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा छलफल गरेका थिए । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेका १३ जिल्लाको विषयमा नेताहरुबीच छलफल भएको थियो । बैठकमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सिटौला नेतृत्वको कार्यदलका सदस्यहरु मिनेन्द्र रिजाल र रमेश लेखक पनि सहभागी थिए । कांग्रेसले अब बाँकी रहेका जिल्लाहरुमा ५ असोजमा वडा तहको अधिवेशन गर्ने मिति तोकेको छ । तर शुक्रबारसम्म १३ जिल्लाको सदस्यताको टुंगो लागेको छैन ।