ललितपुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्न सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् । उनले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुट बोलेको भन्दै असन्तुष्टि जनाए । ओलीले देशका अगाडि बेइमानी कुरा नगर्न पनि चेतावनी पनि दिए। बुधबार देशको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले आफूले पहिला जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रहेको जिकिर गरे । 'एमाले पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ?,' उनले भने, 'पहिले आफूले जारी गरेको अध्यादेश र अहिले जारी गरिएको अध्यादेशमा उद्देश्यमा, मनसायमा फरक छ । सरकारले अनुचित बाटोबाट कानुन निर्माण गरेर प्रतिपक्ष पार्टी फुटाउने कार्य अनैतिक हो । यो नैतिक कार्य होईन ।' अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दाबी समेत गरे । आफ्नो नेतृत्वको सरकारलाई कामै गर्न नदिएको बताउँदै उनले वर्तमान सरकार विकास निर्माणको काम ठप्प पारेको आरोप लगाए । उनले दीर्घकालीनआयोजनाहरुको काम अघि नबढाउन सरकारले परिपत्र गरेको उल्लेख गर्दै आक्रोश पोखेका थिए । उनले मेलम्ची खानेपानीको आयोजना आगामी बैशाख भित्र काठमाडौं ल्याउने कुरा गरेपनि सरकारले सोही अनुसारको काम अघि बढाउन नसकेको बताएका थिए । 'हिजो सरकारलाई काम गर्न दिइएन । काम गर्न पाएन धेरै । अहिलेको सरकार कामै गर्दैन । भत्काउने काम गर्छ, बिगार्ने काम गर्छ । दिर्घकालीन आयोजनाहरु रोक्नु भनेर सरकारले परिपत्र गरेको छ । पुनर्निर्माण प्राधिकरणले काम गर्दै थियो । त्यसका ईन्जिनियरहरुलाई तलवको समेत व्यवस्था गरिएको छैन,' उनले भने, 'विकास, निर्माणको काम ठप्प भएको छ । जुन कामको ठेक्का लागेको थियो, ती कामहरु मात्रै चालु छन् । अरु नयाँ कामहरु हुनेवाला छैन । ठेक्का लाग्ने वाला पनि छैन । मेलम्चीको पानी वैशाखसम्म काठमाडौं आउने भनिएको छ । तर त्यो पानी पनि आउने वाला छैन । किनभने गफले पानी आउँदैन, कामले पानी आउने हो ।' अध्यक्ष ओलीले माधव नेपालसहितका पार्टीले निश्कासन गरेका १४ जना सांसदहरुलाई कारवाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको चर्को आलोचना गरेका थिए । उनले पार्टीले निश्कासन गरेका आफ्ना सांसदहरुको मुद्दा विचाराधिन छ भनेर सभामुख सापकोटाले राजनीतिलाई गिजोल्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।