काठमाडौं । नेपका एमालेले १० बुँदे सहमतिका आधारमा जेठ २ अघिका सबै संगठनहरू क्रियाशील गराउने निर्णय गरेको छ । मंगलबार तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि तय भएको १० बुँदे सहमति इमान्दार रुपमा कार्यान्वयनका लागि ६ सदस्यीय कार्यादल पनि गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यादलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् । माधव नेपालसँग विभाजनको प्रक्रियामा नजोडिएका नेतासहित बसेको बैठकले पार्टीका महाधिवेशनको मिति समेत तय गरेको छ । केन्द्रीय महाधिवेशन आउँदो मंसिर १० देखि १२ सम्म हुने भएको छ । त्यस्तै विधान महाधिवेशन असोज ४ देखि ६ सम्म हुनेछ ।