काठमाडौँ । सरकारले सरकारी कर्मचारीको नयाँ तलबमान साउनदेखि नै लागू गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका हुन् ।
मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्ने निर्णय गरेको छ ।
यसअघि बजेटमार्फत सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि मासिक २ हजार रुपैयाँ तलव बढाएको थियो।
मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको उनले बताए ।