काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच ३ दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ ।
नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएका विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।
सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने रु भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका नेता रमेश लेखकले जानकारी दिए ।
'अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूको सम्बन्धमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छु सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिने क्रममा उनले भने, 'यसले निरन्तरता पाउँछ र २र ३ दिन भित्र टुंगिन्छ ।'
बैठकमा नेताहरूबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि दुई दिनभित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ । महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शीर्ष तहमा यसको टुंगो दुई दिनभित्र लगाउने गरी छलफल भइरहेको बताए ।
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन १६–१९ भदौ काठमाडौंमा गर्ने तय गरिएको छ । तर, स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ ।