Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काङ्ग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने !

काङ्ग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने !

दैनिकी न्यूज

८, श्रावण २०७८
काङ्ग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने !
images

काठमाडौं ।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेकै दिन पार्टी पदाधिकारी बैठक राखेपछि देउवाको आलोचना भएको थियो । ‘सामाजिक सञ्जालमा आएका सुझावअनुसार प्रधानमन्त्रीले पार्टीको औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय लिनुभएको छ,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने । देउवाले शुक्रबार नै पार्टी पदाधिकारी बैठक डाकेका छन् । पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर अनशन र धर्ना जारी रहेकाले बैठक सभापतिको निजी निवास बूढानीलकण्ठमा हुने भएको छ ।

क्रियाशील सदस्यता विवाद समाधानका लागि देउवाले बैठक बोलाएका हुन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यतालाई लिएर जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको भीड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।

प्रदेश २ का धनुषा, बारा र सर्लाहीमा संस्थापन पक्षले सदस्यता वितरणमा अनियमितता भएको भन्दै चर्को विरोध हुँदै आएको छ । धनुषाका चन्द्रमणि यादव, राम पल्टन साह र दिनेश नायक पाँच दिनदेखि पार्टी कार्यालयको मूल ढोकामा आमरण अनशन बसेका छन् । सर्लाहीका ७१ वर्षीय राम गोविन्द राय बुधबारदेखि आमरण अनशनमा छन् । यसै विषयलाई लिएर सांसद अमरेश सिंहले बुधबार सभापति देउवालाई भेटेरै सांसद पदबाट राजीनामा दिएको पत्र थमाएका थिए ।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - ००:०६:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology