Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कम्युनिस्टसंग गठबन्धन बनाएको भन्दै काङ्ग्रेसका यी नेताले उठाए प्रश्न

कम्युनिस्टसंग गठबन्धन बनाएको भन्दै काङ्ग्रेसका यी नेताले उठाए प्रश्न

दैनिकी न्यूज

३, आषाढ २०७८
कम्युनिस्टसंग गठबन्धन बनाएको भन्दै काङ्ग्रेसका यी नेताले उठाए प्रश्न
images

ललितपुर । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र निरंकुश कदमलाई नियन्त्रण गर्न विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोलेका अधिकांश नेता गठबन्धनको पक्षमा उभिए ।

सो पार्टीको भदौमा हुने महाधिवेशनका लागि संशोधित तालिका अनुमोदन गराउने एजेन्डा राखेर बोलाइएको बैठकमा नेताहरूले सो सुझाव दिएका हुन् । 

बैठकमा नेता महेश आचार्यले भने कम्युनिस्ट पार्टीहरूसँगको गठबन्धन वैचारिक रूपमा पनि अमिल्दो भएको तर्क गर्दै पुनर्विचार गर्नुपर्ने बताए । उनले केही दिनअघि पाँच पूर्वप्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमाथि समेत प्रश्न गरेका थिए । आचार्यले उठाएका प्रश्नको सभापति शेरबहादुर देउवाले तत्कालै जवाफ दिँदै प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध मोर्चाबन्दी गरेको बताए । ‘यस्तो गठबन्धन अहिले मात्रै भएको होइन । विगतमा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदाका बखत पनि भएको थियो,’ देउवाले सोधे, ‘त्यतिबेला तपाईंहरूले नै गठबन्धन गरेको होइन ?’ 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने गठबन्धन विश्वासिलो बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अल्पमतमा परेका प्रधानमन्त्री ओलीमा अझै दुई तिहाइको धङधङी रहिरहेको टिप्पणी गरे । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतलाई लिखित जवाफ दिने क्रममा ओलीले प्रस्तुत गरेका तर्क र विश्लेषण राज्य सत्ताकब्जा गर्नेतिरै लक्षित रहेको कार्कीको भनाइ थियो । उनले विपक्षी गठबन्धनले जनतालाई भरोसा दिलाएको तर्क गर्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । नेताहरू रमेश लेखक, गगन थापा, मोहनबहादुर बस्नेत, शंकर भण्डारी, उमाकान्त चौधरी, कल्याण गुरुङलगायतले विपक्षी गठबन्धनलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

images
प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - २२:४६:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology