काठमाडौं । नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्दैछ। पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ। कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, स्थानीय तहका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ। कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेतासमेत सहभागी हुने पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री तथा समितिका संयोजक डा. प्रकाशशरण महतले गर्नेछन्। जेठ २ देखि सुरु हुने कार्यक्रममा बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेश, अपराह्न ४ बजेदेखि लुम्बिनी प्रदेश, जेठ ३ गते बिहान १० बजेदेखि गण्डकी प्रदेश र अपराह्न ४ बजेदेखि बागमती प्रदेशका जिल्लाको सहभागिता रहने जनाइएको छ। त्यस्तै, जेठ ४ गते बिहान १० बजेदेखि प्रदेश २ र अपराह्न ४ बजेदेखि प्रदेश १ का जिल्लाको सहभागिता रहनेछ।