Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सरकारले पूरा गर्‍यो जसपाको माग, अब के ओली सरकारमा सहभागी होला

सरकारले पूरा गर्‍यो जसपाको माग, अब के ओली सरकारमा सहभागी होला

दैनिकी न्यूज

१५, बैशाख २०७८
सरकारले पूरा गर्‍यो जसपाको माग, अब के ओली सरकारमा सहभागी होला
images

काठमाडौं । सरकारले मधेस आन्दोलनका १५ मुद्दाका १२० जना अभियुक्तका मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को यसअघिको बैठकले जनता समाजवादी पार्टीसँगको वार्तापछि १ सय २० जनाविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित बुधबारको पत्रकार सम्मेलनमा जसपाले उठाउँदै आएका मागका आधारमा मन्त्रिपरिषद्ले निर्णय लिएको र आगामी दिनमा पनि मुद्दा फिर्ता लिनेक्रम जारी रहने गुरुङले बताए । नेपाल सरकार वादी भई चलाएका मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका, २०७७ अनुसार मुद्दा फिर्ता लिइएको मन्त्री गुरुङको भनाइ थियो । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताविरुद्धका मुद्दा पनि फिर्ता हुने चरणमा रहेको बताए । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, 'अरु मुद्दाहरूलाई पनि क्रमशः कानुनी हिसाबले फिर्ता लिने क्रममा छन् ।' जसपाले २ सय ८ जना बन्दीलाई रिहाइ गर्नका लागि सरकारसँग वार्ता गरिरहेको छ । सरकारसँग जसपाको सहमति बमोजिम नै उक्त संख्यामा बन्दी रिहाइ हुने भएका हुन् । सरकारले फिर्ता लिएका मुद्दामा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनमा संलग्न भने छैनन् । आन्दोलनका क्रममा भएका घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । २०७२ भदौमा भएको उक्त हिंसामा संलग्न रहेको भन्दै सरकारले ५८ जनाविरुद्ध मुद्दा चलाएको थियो । जसमा रेशम चौधरी पनि थिए । रेशम चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा फरार रहेकै अवस्थामा निर्वाचित भएका थिए । कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । उनी जसपाका सांसद हुन् । सरकारले उक्त घटनामा संलग्नको भने मुद्दा फिर्ता लिएको छैन ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - २१:३५:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology