काठमाडौं । नेकपा (एमाले)को झलनाथ खनाल-माधवकुमार नेपाल समूहले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाहीप्रति निन्दा गरेको छ । कलंकीस्थित एक पार्टी प्यालेसमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेताहरुमाथि गरेको कारबाहीको निन्दा गरेको नेता भिम रावलले जानकारी दिए । ‘केपी शर्मा ओलीले पार्टीको विधान, नियमवालीविपरीत हाम्रो पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेजीलाई ६ महिनाको लागि कथित निलम्बनको कुरा गर्नुभएको छ । त्यसको बैठकले निन्दा, भर्त्सना गरेको छ,’ रावलले भने, ‘केपी शर्मा ओलीले अरुमाथि तानाशाही लाद्ने, निरंकुश स्वेच्छाचारी चरित्रको द्योतक हो भनेका छौं ।’ अध्यक्ष केपी शर्मा ओलीले बिहीबार स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका थिए । त्यसअघि नेता माधवकुमार नेपाल र रावललाई पनि कारबाही गरेका थिए ।