Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

दैनिकी न्यूज

१४, चैत्र २०७७
माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने घोषणा गरेका छन् । राजनीतिक गतिरोधबारे बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले प्रतिगामी भनेको सरकारलाई दिएको समर्थन अब धेरै दिन नरहने बताएका हुन् । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई लिएर आन्दोलनमा उत्रिएका दल र शक्तिले हत्त न पत्त समर्थन फिर्ता नलिन दबाब दिएको भन्दै उनले अब धेरै दिन कुर्न नसक्ने घोषणा गरेका हुन्  । 'मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यो सरकारलाई म अब समर्थन गर्न सक्दिनँ । चाहे राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्दछ । केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु,' प्रचण्डले भने, 'हिजो प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा भएका साथीहरुको मलाई हत्त न पत्त समर्थन फिर्ता नलि है भनेर जबर्जस्त दबाब म माथि छ । जबर्जस्त नै छ । म नामचाहिँ भन्दिनँ । हत्त न पत्त समर्थन फिर्ता लिइस् भने उल्टो पर्छ है भन्ने छ । मैले भनिरहेको छु, नैतिक र राजनीतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिनँ ।' प्रचण्डले ओलीका कदमविरुद्ध सडकमा गएका राजनीतिक दलहरुबीच सहमति गर्ने कोसिसले समर्थन फिर्ता लिने विषय ढिला भएको दाबी गरे । 'जसले प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरुबीच न्यूनतम समझदारी र सहमति होस् । अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भनेर दाह्रा किटेर केही दिन समर्थन रोकेको मात्रै हो । अरु होइन,'  प्रचण्डले भने । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि माओवादी केन्द्रले सरकारलाई समर्थन गरिरहेर दोष आफूहरुमाथि थोपरेको टिप्पणी गरे । दाहाललाई इंगित गर्दै ठाकुरले भने, 'जुन बेला तपाईंको आवश्यकता थियो, साथ दिएकै हौं । अहिले त आफैं अलमलमा पर्नुभएको छ । ओलीलाई तपाईंले समर्थन गरिरहनु भएको छ । अनि आरोप हामीमाथि ।' उनले जेलमा परेका आफ्ना पार्टीका नेता, कार्यकर्ता साथीहरुको आवाज जनतामा, सडकमा उठाए पनि अहिलेसम्म सम्बोधन नभएकोमा असन्तुष्टि पोखे । जवाफमा उनले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने मधेसविरोधी ओली प्रवृत्तिविरुद्ध रहेकाहरुको सरकार बनाउन सहयोग गर्न ठाकुरलाई आग्रह गरे ।

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - १७:२३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology