काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट एक अनलाइनले नेकपा एमाले फुटेको घोषणा गरेको छ । बिहीबार बेलुका झण्डै साढे नौ बजे सो अनलाइनका प्रधान सम्पादकले आफ्नै बाइलाइनमा समाचार लेख्दै एमाले फुटेको उल्लेख गरेका हुन् । भर्खरै संचालनमा आएको सो अनलाइनका प्रधान सम्पादक मातृका पौडेल हुन् । एमालेका अध्यक्ष ओलीले सोधेको स्पष्टीकरण दिनुको सट्टा वरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ नेताले उल्टै ओलीलाई प्रतिप्रश्न गर्नु नै फुटको कारण रहेको समाचारमा जनाइएको छ । सो समाचारमा कसैलाई उदृत गरिएको छैन तर स्पष्टीकरणको जवाफ ओलीलाई चित्त बुझ्ने खालको नभएको र अब नेपालसहितका ४ नेतालाई कारवाही हुने ठोकुवा भने गरिएको छ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ओलीले सोधेको स्पष्टीकरणको जवाफ नेपालसहित भिम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालले पार्टी कार्यालयमा बिहीबार बुझाएका थिए । जवाफ बुझाएको केही घण्टा बित्न नपाउदै उक्त अनलाइनले सोही जवाफ नै पार्टी फुटको लागि बलियो आधार भएको दाबी गरेको छ । लेखिएको छ, 'करीव ५० वर्ष लामो सहकार्य गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल चार महिनाको बीचमा दोस्रो पटक राजनीतिक सम्बन्ध बिच्छेदको निर्णायक मोडमा पुगेका छन् ।'
अनलाइनले ठोकुवा गर्दै लेखेको छ, 'स्पष्टीकरण माग्ने र दिनेहरु दुवै पक्षका भाषा हेर्दा उनीहरु अब एकै पार्टीमा रहने सम्भावना लगभग अन्त्य भएको छ ।'
अनलाइनले स्पष्टीकरणलाई प्रचण्डको १९ बुँदे सँग तुलना गरेको छ । 'माधव नेपाल लगायत स्पष्टिकरण मागिएका नेताहरुले एमाले केन्द्रीय कार्यालयमा बुझाएको प्रतिस्पष्टिकरणमा उल्लेखित अधिकांश आरोपहरु नेकपा हुँदैको अवस्थामा प्रचण्डले सचिवालयमा पेश गरेको १९ बुँदै ‘अभियोगपत्र’कै भाषामा छन् ।' पत्रकारितामा निकै खारिएका, अनलाइन पत्रकारितामा राम्रो अनुभव भएका पौडेलले कारबाही हुने कारण नै पेश गरेका छन् ।
'माधव नेपालहरु प्रचण्डसँगै फर्किनेमा कुनै दुविधा थिएन । तर यति चाँडै गर्लान् भन्ने पनि लागेको थिएन । अब कि त केपी ओलीले उनीहरुले लगाएका आरोप स्वीकार गर्नुपर्यो होइन भने पार्टीले थप कारवाही अघि बढाउँछ । अब उनीहरुलाई एमालेमा स्थान रहने देखिएन । प्रचण्डसँग बसेर मस्यौदा गरिएको अभियोगपत्र केपी ओलीले कसरी स्वीकार गर्ने ?' उनले प्रश्न गरेका छन् । सर्वोच्च अदालतको फागुन २३ गते नेकपालाई भंग गरेर एमाले र माओवादी केन्द्रलाई पुर्ववत अबस्थामा फर्काएपछि ओलीले नेपालसहितका नेताहरूलाई खबर नै नगरी फागुन २८ गते केन्द्रिय समिती बैठक राखी माओवादी केन्द्रका २३ जनालाई केन्द्रिय सदस्य बनाएका थिए । त्यसपछि ओली-नेपाल विवाद थप चुलिएको हो ।