काभ्रे । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मुलुकमा खतराको बादल मडारिरहेको भन्दै अझै ढुक्क हुने अवस्था नरहेको बताएका छन् । दुई कम्युनिष्ट पार्टीको एकता यथास्थितिमा राख्ने गरी आएको सर्वोच्चको फैसला ‘अस्वाभाविक’ भएको भन्दै यसले सतर्क र गम्भीर बनाएको जनाए । पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै उनले जनताको बलमा प्रतिनिधिसभा विघटन खारेज भए पनि एकता भएका दुई कम्युनिष्ट पार्टीलाई पहिलाकै स्थितिमा फर्काउने निर्णयले देशलाई बर्बादी र अस्थिरतातर्फ लैजाने बताए । ‘प्रतिनिधिसभा भंग गरिएपछि हुन त हामी जनताको बीचमा गर्यौं, सर्वोच्चले सरकारको निर्णय खारेज गर्यो, त्यहाँसम्म त हामी सफल भयौं तर अझै पनि ढुक्क हुने स्थिति छैन, राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने खतरा हुन पनि सक्छ,’ उनले भने, ‘त्यही सरकार संवैधानिक इजलासले ७६ (१) को हो भने छ, दुई जनाको इजलासले ७६ (२) को बनाइदिएको छ, त्यो फैसला स्वाभाविक ढंगले आएको छैन, हामी गम्भीर पनि छौं, सतर्क पनि छौं ।’ राजनीतिक उपलब्धिहरु मन नपराउनेको षड्यन्त्रमा तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘दलाल’ र ‘मोहरा’ बनेको प्रचण्डले आरोप लगाए ।