काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपा नामबारे सर्वोच्च अदालतले गरेको फैसलाले राजनीतिक जटिलता थपेको प्रतिक्रिया दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सांसद थापाले नेकपा नामसम्बन्धि सर्वोच्च अदालतले मागेभन्दा बढी विषयमा फैसला गरेकाले राजनीतिक जटिलता थपेको बताएका हुन् । नेकपाबाट निर्वाचित सांसद र सभामुखलगायतका बारेमा जटिलता ल्याएको थापाको भनाइ थियो । सभामुख अग्निप्रसाद सापकोटा साबिकको नेकपाबाट निर्वाचित भएका थिए । 'आजको अदलतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्यो । बाहिर जसरी कुरा आइरहेको छ कि प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो, नेकपा एमाले र माओवादी केन्द्र बने, कुरा यत्तिमै टुंगिन्न,' सर्वोच्च अदालतको फैसलाले पार्ने प्रभावतर्फ संकेत गर्दै सांसद थापाले थपे, 'सम्मानित अदालतले भनिदिनुपर्यो सभामुखलाई के गर्ने त हामीले ? सभामुखलाई गाई कि त्रिशूल गर्ने कि ? कतापट्टि लाने ?' सभामुख र उपसभामुख फरक-फरक दलको भन्ने संवैधानिक व्यवस्था रहेको र अहिलेका सभामुख नेकपाबाट निर्वाचित भएको भन्दै थापाले अब सभामुखलाई कुन पार्टीको मान्ने भनेर प्रश्न उठाएका हुन् । 'यत्रो धेरै सांसद निर्वाचित भएर आउनुभएको छ त्यो कुन पार्टीको मान्ने ?,' उनले थपे । प्रतिनिधिसभाको उपचुनाव, राष्ट्रिय सभा चुनाव र प्रदेश सभाहरूका उपचुनावबाट नेकपाबाट निर्वाचित भएर आएकाहरूलाई के गर्ने भन्ने प्रश्न उठेको उनको भनाइ थियो ।