काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टी(जसपा) नेपालका नेताबिच पछिल्लो राजीनितिक घटनाक्रमका बारेमा छलफल भएको छ । बिहीबार नेकपा कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्वय प्रचण्ड , माधवकुमार नेपाल र जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो । छलफलमा आगामी दिनमा सहकार्य गरेर जानका निम्ति प्रचण्ड–नेपालले प्रस्ताव गरेको महतोले बताए । उनका अनुसार जसपाले तपाईंहरूको पार्टी कुन हो ? भनेर प्रश्न राखेका थिए । आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए । उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो । हामीले जिज्ञासा राख्यौं, 'तपाईंहरुको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? अलमलमा परियो त्यो प्रस्ट हुनुस् र तपाईंहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौं ।’ जसपा नेताहरुले पटक–पटक आफूहरुले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरु अझै पनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाइका लागि संघर्ष गरिरहने बताएका छन् । वरिष्ठ नेता महतोले भने, ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरीलगायतले अहिले पनि बन्दी जीवन बिताइरहेका छन् । यी सवालहरु छन् । यी समस्याहरु छन् । त्यसैले आगामी दिनमा हामी यी सवालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौं र आगामी दिनमा पनि उठ्ने छौं र यसका लागि संघर्ष गर्छौं । संविधानमा रहेका त्रुटिहरु, कमीकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बने पनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौँ ।’