काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले सही फैसला गर्ने विश्वास रहेकाे बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर मुलुक र संविधान विघटन र बिसर्जन गर्ने बाटोमा लागेको भन्दै उनले त्यसमा आफूहरू सफल हुने बताए । तिलकराज भण्डारीले सम्पादन गरेको 'जनयुद्धको हस्ताक्षर' पुस्तक विमाेचन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध पुस ५ देखि शान्तिपूर्ण युद्ध जारी रहेको बताए । आफूहरू शान्तिपूर्ण युद्धमा भएपनि अदालतप्रति विश्वास रहेको उनको भनाइ थियाे । 'अहिलेकाे शान्तिपूर्ण युद्ध जित्नुपर्छ । जनआन्दोलन र जनयुद्धका उपलब्धि धराशायी हुने खतरा उत्पन्न भएकोले अहिलेकाे युद्ध जित्नुपर्छ,' उनले भने, 'हामीले अदालतप्रति विश्वास छैन भनेको हाेइन । अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्नेछ भन्ने विश्वास छ ।' प्रतिनिधिसभा विघटनको मुद्दामाथिको सुनुवाइ सकिएपछि प्रचण्डको याे धारणा सार्वजनिक भएको हाे । पार्टी विभाजन गर्न ओलीले षड्यन्त्र गरेको उनले आरोप लगाए । 'ठूलो दु:खले पार्टी एकता गरिएको थियाे । त्यसलाई विभाजन गर्ने ठूलो षडयन्त्र भइसकेको छ,' उनले भने, 'हामी आधिकारिक हाैं । पार्टी एकताको रक्षामा छाैं । ओलीले फुट, विघटन र विसर्जनमा लगेका छन् । पार्टीमा फुट, संविधान, देश र लाेकतन्त्र विघटन र विसर्जन गर्न खाेज्नुभयाे ।' प्रधानमन्त्री ओलीले अहिलेकाे मुद्दा हारिसकेकाे तर व्यवहारिक रूपमा परास्त गर्नका निम्ति पार्टीले आन्दोलन अगाडि बढाउनुपर्ने प्रचण्डको भनाइ थियाे ।