राजविराज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सी छोडेर आन्दोलनमा आउन चेतावनी दिएका छन् । सर्वोच्च अदालतलाई धम्क्याएको विषयमा असन्तुष्टि जनाउँदै पौडेलले कुर्सीमा बसेर आन्दोलनको कुरा नगर्न सुझाव दिए । ‘प्रतिनिधिसभा पुन:स्थापनाको फैसला भए आन्दोलन गर्छु भनेर प्रधानमन्त्री भनिरहेका छन्’, पौडेलले भने, ‘यसरी अदालतलाई धम्क्याउनु आपत्तिजनक छ,’ उनले सप्तरीको राजविराजबाट प्रधानमन्त्रीलाई आह्वान गर्दै भने- 'प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउनुस्, हेरौं कस्तो आन्दोलन गर्नुहुन्छ ?’ सप्तरीको राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पौडेलले अहिलेको संविधानमा प्रधानमन्त्रीलाई कुनै अन्तरनिहित अधिकार नदिएको भन्दै प्रतिनिधिसभा पुन:स्थापना हुनेबित्तिकै ओली समाप्त हुने बताए । ओली लोकतन्त्रका लागि खतरा रहेको पौडेलले आरोप लगाए । नेता पौडेलले ००७ सालदेखि हालसम्मको आन्दोलनमा मधेसका नेताहरुको ठूलो योगदान रहेको बताउँदै ती नेताहरुको सम्मान र ऐतिहासिक ठाउँहरुको भ्रमणका लागि आफू मधेस सम्मान यात्रामा निस्केको जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आन्दोलन चर्काउनुपर्ने भन्दै आएका पौडेलले सर्वोच्च अदालत संसद् पुन:स्थापना नजिक रहेकाले तत्काल कांग्रेसलाई ठूलो आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको बताए । संविधानमा जे छ अदालतले पनि त्यही गर्ने उल्लेख गर्दै पौडेलले भने,‘जतिसुकै सेटिङ गरेपनि अदालतले संविधान वाहिर गएर फैसला गर्न सक्दैन ।’ पौडेलले संसद् पुनर्स्थापना नभए नेपालमा अनर्थ हुने बताए ।